ललितपुर महानगरपालिका–२१ स्थित ऐतिहासिक बस्ती खोकनामा आज रुद्रायणीको १२ वर्षे जात्राको समापन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए।
स्थानीय जनताको भव्य स्वागतकाबीच कार्यक्रमको आयोजना गरिएको थियो, जसमा जात्रालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, संघ, र संस्थाहरूलाई सम्मानित गरिएको थियो। साथै, “खोकना जात्रा” नामक विशेष प्रकाशन र जात्राको भिडियोसमेत सार्वजनिक गरिएको छ, जसले यस ऐतिहासिक जात्राको महत्त्व र सांस्कृतिक धरोहरलाई थप उजागर गर्ने प्रयास गरेको छ।
प्रमुख अतिथि प्रचण्डले सम्बोधन गर्दै रुद्रायणीको १२ वर्षे जात्रालाई देशको सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्वपूर्ण हिस्सा भएको बताउँदै जात्राको संरक्षण र प्रवर्द्धनमा स्थानीयबासीको सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे। उनले यस प्रकारका कार्यक्रमहरूले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने धारणा पनि व्यक्त गरे।
खोकनाको यो जात्रा स्थानीय समुदायको आस्था र परम्परासँग गहिरो सम्बन्ध राख्ने ऐतिहासिक र धार्मिक महत्त्वको पर्व मानिन्छ, जसलाई प्रत्येक १२ वर्षमा विशेष धूमधामका साथ मनाउने चलन छ।







