गण्डकी प्रदेश मा एमाले सहभागी हुने निर्णय भएको छ। आईतवार गण्डकी मन्त्री परिषदले ७ मन्त्रालयलाई फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेसँगै, एमालेले ४ मन्त्रालय लिएर सरकारमा सहभागिता जनाउने तयारी गरेको छ।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार, मुख्यमन्त्री सुरेन्द्र पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीबीच सोमवार बिहान भएको छलफलपछि अन्तिम सहमति भएको हो।
यस सहमतिअनुसार, एमालेले ४ मन्त्रालयको जिम्मा लिनेछ, जबकि काँग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालय पाउनेछ। स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले एक-एक मन्त्रालयको जिम्मा पाउनेछन्।
काँग्रेसबाट आर्थिक मामिला मन्त्री टेक बहादुर गुरुङ र सामाजिक विकास मन्त्री बिन्दु थापा कायम रहने छन्। एमाले भौतिक मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ भने देवकोटा र मनाङेको मन्त्रालयको कार्यविभाजन परिवर्तन गर्ने तयारी रहेको छ।
एमाले संसदीय दलले मन्त्री छनोटको जिम्मा संसदीय दलका नेता खगराज अधिकारीलाई दिएको छ। यस पटक भूगोल, जातीय क्लष्टर, र लैंगिक सन्तुलनको आधारमा मन्त्री चयन गरिने सम्भावना छ।
मुख्यमन्त्री पाण्डेले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।







