अवैध बाटोबाट नेपालीहरूको मानव तस्करीको प्रमुख गन्तव्य पोर्चुगल बनेको छ । अवैध रूपमा प्रवेश गर्दा पनि अस्थायी बसोवासको अनुमति र राहदानीको प्रक्रिया सहज भएकाले पोर्चुगलमा मानव तस्करी बढेको हो । यसरी पोर्चुगल जान खोज्नेमध्ये कतिपय बेपत्ता भएका छन् । केही थुनामा परेर फर्किएका छन् ।
यसरी फर्किएकामध्ये केहीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गिरोहका नाइके कञ्चनपुरका दीपेश शाहीलाई कारबाहीको माग गरेका छन् । पीडितहरूका अनुसार १७ जनालाई शाहीले पोर्चुगल पुऱ्याउने भन्दै गत २९ चैतमा दुबई लगेका थिए । त्यहाँबाट उनीहरूलाई रसिया लगियो । रसियाबाट १४ घन्टा ट्याक्सी चढाएर बेलारुस लगिएको थियो । बेलारुसबाट घन्टौँ हिँडेर जंगल र खोलाको बाटो हुँदै लाट्भिया प्रवेश गर्न खोज्ने क्रममा उनीहरू सीमामा पक्राउ परेका हुन् । पीडितका अनुसार चारपटकसम्म उनीहरूला फर्काइएको थियो । यसरी गएकामध्ये मनोज शाही बेपत्ता भएका छन् । बेपत्ता भएका युवकका परिवारले खोजीका लागि परराष्ट्र मन्त्रालयदेखि प्रहरीसम्म निवेदन दिएका छन् । दलालमाथि कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा समेत उजुरी परेको छ । आफूहरूलाई फोहोर पानी खान दिएको, बिरामी हुँदा पनि नेपाल फर्काउन नमानेको र बन्धक बनाई एजेन्टहरू फरार भएकाले परिवारको सहयोगमा केही हालै नेपाल फर्किएका छन् । १४ लाखसम्म एजेन्टलाई बुझाएर गएका उनीहरू १५ दिन बेलारुसमा थुनामा समेत परेका थिए। अवैध बाटोबाट पोर्चुगल लैजाने घटना धेरै बढेको ब्युरोका एसएसपि श्रेष्ठले बताए । विगतमा टर्की हुँदै लैजाने गरिएकोमा पछिल्लो समय रसिया, बेलारुस हुँदै अवैध रूपमा पोर्चुगल लैजाने सम्म सक्रिय छ ।
यसरी पोर्चुगल जान खोज्नेहरू धेरै समस्यामा परेको छ । पोर्चुगल मानवतस्करीमा कतिपय मेनपावरको समेत संलग्नता देखिएको छ । सर्बियामा कामदार भिसामा पठाउने र त्यहाँबाट पोर्चुगल जाने प्रवृत्तिसमेत देखिएको छ । यस्तो मानव तस्करीमा संलग्नमध्ये कतिपय नेपाली पोर्चुगलमा समेत रहेको प्रहरी अधिकारी बताउँछन् ।







