काठमाडौं, असार २८ –
लोकप्रिय गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबको ‘ग्लोबल डेली टप म्युजिक भिडिओ’ सूचीमा १०औं स्थानमा पुग्न सफल भएको छ। नेपाली गीतका लागि यस्तो स्थान प्राप्त गर्नु गौरवको विषय बनेको छ, जुन विश्व स्तरमै हाम्रो संगीतको उपस्थिति बलियो बनाउने संकेत हो।
बुधबार सार्वजनिक भएको गीतले छोटो समयमा नै नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गर्यो। साथै, नेपाली समुदाय बसोबास गर्ने विभिन्न देशहरूमा पनि यो गीत ट्रेन्डिङमा रहेको देखिन्छ।
गीतको सफलताको पछाडि कलाकारहरूको सहकार्यलाई मुख्य कारण मानिएको छ। गायक दुर्गेश थापाले यसपटक कन्टेन्ट क्रिएटर सिसन बानियाँ र टिकटकमा चर्चित गुराँस नानीसँग सहकार्य गरेका छन्। गीत आउनुअघि नै उनीहरूले बनाएका रमाइला भिडियो क्लिपहरू दर्शकमाझ भाइरल भएका थिए।
शुटिङका दृश्यहरू सार्वजनिक भएपछि गीतप्रतिको उत्सुकता झन् बढेको थियो। युट्युबमा रिलिजको २४ घण्टाभित्रै भिडिओले २० लाखभन्दा बढी भ्युज पाएको थियो, जुन नेपाली म्युजिक भिडियोको सन्दर्भमा उल्लेखनीय उपलब्धि हो।
भिडिओको भ्युज संख्या ४१ लाख ६० हजार नाघिसकेको छ भने ३ लाख ७ हजारभन्दा बढी लाइक प्राप्त भएको छ। विभिन्न सामाजिक सञ्जालमा यस गीतका लिपसिङ र डान्स भिडिओहरू दिनहुँ नयाँ शैलीमा देखा पर्दै छन्, जसले यसको लोकप्रियता थप बढाएको छ।
गीतले अब ‘ग्लोबल विक्ली ट्रेन्डिङ म्युजिक भिडिओ’ सूचीमा समेत स्थान बनाउन सक्ने प्रबल सम्भावना देखिएको छ। युट्युबले हरेक आइतबार साप्ताहिक रुपमा यो सूची अद्यावधिक गर्छ, जसमा सात दिनमा विश्वभर सबैभन्दा धेरै हेरिएका म्युजिक भिडिओहरू समावेश गरिन्छ।







