काठमाडौं, असार २९ – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सामान्यभन्दा केही उत्तरतिर सक्रिय छ। यसका कारण आइतबार दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाले दिएको जानकारी अनुसार, देशका सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
देशका उच्चपहाडी र हिमाली भेगमा पनि मौसम प्रतिकूल रहने देखिएको छ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
आज राति पनि देशभर सामान्य बदली हुने मौसम पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना औंल्याइएको छ।
सार्वजनिक सुरक्षाका लागि महाशाखाले पहिरो, बाढी तथा यातायात अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।







