काठमाडौं – नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे, र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका व्यक्तिहरुले इडिभी प्रयोजनका लागि एसइई र १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकन दूतावासमा पेस गरेको सूचना प्राप्त भएको थियो। अमेरिकी दूतावाससँगको समन्वयमा उक्त व्यक्तिहरुलाई दूतावास नजिकबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभएको छ।
नक्कली प्रमाणपत्रको प्रयोग बढ्दै गएको यस घटनाले भिसा प्रक्रियामा धोकाधडीका घटनाहरु फेरि सतहमा ल्याएको छ। सम्बन्धित निकायले यस विषयमा थप छानबिन र आवश्यक कारबाही गर्ने जानकारी दिएको छ।







