ब्रोकर कम्पनीहरूले आफ्नै ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने तयारी अझै अपूरो रहेको देखिएको छ। हाल लगानीकर्ता र कारोबारीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘विजट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) प्रयोग गर्दै आएका छन्।

ब्रोकर कम्पनीहरूले आफ्नै टीएमएस सञ्चालन गर्न परीक्षण गरे पनि नेप्सेको सिस्टमसँग ‘म्याचिङ’ मा ढिलाइ हुँदा यो प्रक्रिया लम्बिने भएको छ। ब्रोकर कम्पनीहरूका अनुसार टीएमएस तीन भर्जनमा रहेको छ, जसमा मोबाइल एप, डेस्कटप, र वेब समावेश छन्। ग्राहकहरूले मोबाइल एपको प्रयोग गरी सहजै सेयर किनबेच गर्न सक्नेछन्।

ब्रोकर कम्पनीका एक प्रतिनिधिले भने, “ग्राहकलाई चलाउन सहज हुने गरी टीएमएस बनेको छ। सुरुमा टीएमएस चलाउने तरिकाबारे हामीले भिडियो बनाएर सार्वजनिक गर्नेछौं, जसबाट ग्राहकहरूले नयाँ टीएमएस प्रयोग गर्न सिक्न सक्नेछन्।”

ग्राहकहरूले कारोबारका लागि टीएमएस चलाउँदा कुनै शुल्क बुझाउनु पर्ने छैन, तर चार्ट तथा डाटा सहितको स्तरीय सेवा प्रयोग गरेबापत शुल्क लाग्ने संभावना छ। यसबारे ब्रोकर कम्पनीहरूले कुनै निर्णय नगरेको बताए।

नासा सेक्युरिटिजले पनि आफ्नै छुट्टै टीएमएस सञ्चालन गर्ने तयारी गरेको छ। नासाले भारतको डिओन ग्लोबल सोलुसनद्वारा निर्मित टीएमएस खरिद गरेको छ। नासाका प्रबन्ध सञ्चालक मदन पौड्यालले ग्राहकलाई थप सेवा सुविधा दिन छुट्टै टीएमएस सञ्चालन गर्न लागेको जानकारी दिए। ब्रोकर कम्पनीहरूले छुट्टाछुट्टै टीएमएस प्रयोग गर्दा प्रविधिमा प्रतिस्पर्धा बढ्ने र यसले समग्र बजारको विकासलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय