गृहमन्त्रालय द्वारा भिजिट भिषामा गएर काम नगर्न भनी विज्ञप्ति जारी गरिएको छ। पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाईहरु भोगिरहेको समाचार गुनासा तथा सूचनाहरु आइरहेको छ भनी विज्ञप्तिमा उल्लेख्य गरिएको छ।
भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ ।
गैरकानूनी रुपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा विमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानूनी आधार नरही त्यस्ता व्यक्तिहरु झन ठूलो कठिनाईमा पर्ने अवस्था हुन्छ । विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानून बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पुरा गरेर मात्र जानुहुन तथा आफ्नो परिवारको कुनै सदस्य यसरी विदेश जाँदा सम्पूर्ण प्रक्रिया पुरा गरेको छ छैन बुझ्ने, परामर्श लिने काम गर्नुहुन साथै स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रको
नागरिक विदेशमा भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता ब्यक्तिहरुको अभिलेखन तथा आवश्यक कानूनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने ब्यबस्था मिलाउन अनुरोध गरिन्छ । भिजिट भिसामा विदेशमा जानेहरुले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्नुहुन र भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ भनी नेपाली नागरिकहरुका लागि उक्त विज्ञप्तिमा उल्लेख्य गरिएको छ।







