काठमाडौं – नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले आगामी असोज १७ गतेदेखि १९ गतेसम्म हिमालयन इन्टरनेशनल एक्सपो आयोजना हुने भएको छ। यो प्रदर्शनी काठमाडौंको भृकुटिमण्डपमा घटस्थापनाको दिनबाट आरम्भ हुनेछ।

एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहर जस्ता प्राकृतिक रेशाबाट बनेका दर्जनौँ कपडा उत्पादन समावेश हुनेछन्। साथै, पश्मिना, स्टोन, माला, क्युरियाका सामाग्री, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपर, पेपर प्याकेज, नेपाली ढाका कार्पेट, जडीबुटी र सजावटका सामानका व्यापारिक कक्ष पनि रहनेछन्।

हिमालयन एक्स्पोका अध्यक्ष कपिल अधिकारीले जानकारी गराउँदै भने, “हाम्रो उद्देश्य नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान सहयोग गर्नु हो।”

यस प्रदर्शनीमा सयौँ विदेशी व्यापारी र खरिदकर्ता विशेषगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारत लगायतका देशबाट आउने अपेक्षा गरिएको छ। एक्सपोमा सयभन्दा बढी स्टल रहनेछन्, जसले नेपाली हस्तकलाको प्रवर्द्धन गर्ने मौका प्रदान गर्नेछ।

हिमालयन एक्स्पोले लामो समयदेखि नेपाली हस्तकलाको प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ र देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ। अमेरिकाका विभिन्न राज्यमा सफलतापूर्वक एक्स्पो सम्पन्न भइसकेका छन्।

यो एक्सपो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४-६ मा लस एन्जलसमा आयोजना हुनेछ। साथै, क्यानडा, बेलायत लगायतका देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको छ।

हिमालयन इन्टरनेशनल एक्सपो, बिटुबी मोडलमा हुने, नेपालको सबैभन्दा ठूलो हस्तकला प्रदर्शनी हो, जसमा विश्वका विभिन्न मुलुकबाट क्रेताहरू उपस्थित हुनेछन्। यस प्रदर्शनीको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु हो, जसले लगानी र व्यापारको अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय