ललितपुर महानगरपालिकाले हालैको बाढी र डुबानका घटनाहरुबाट सिक्दै आपतकालीन उद्धारका लागि पाँच वटा डुंगा किन्ने निर्णय गरेको छ। सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँग भएको छलफलका क्रममा मेयर चिरिबाबु महर्जनले यस निर्णयको घोषणा गर्नुभएको हो।

मेयर महर्जनका अनुसार डुंगा अभावका कारण पछिल्लो बाढीमा धेरैको उद्धारमा समस्या देखिएको थियो। भविष्यमा जलवायु परिवर्तनका कारण यस्ता विपद् कुनै पनि बेला आइपर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले डुंगा किनेर तयारी अवस्थामा राख्ने योजना बनाएको हो।

उहाँले भनिन्, “अतिवृष्टि र अनावृष्टिका कारण उद्धार र राहत कार्यमा समस्या हुन नदिन महानगरले अबदेखि आवश्यक उपाय अवलम्बन गर्नेछ।” साथै, उहाँले विपद् पश्चात स्वास्थ्यजन्य समस्याहरु नउब्जियोस् भनेर शुद्ध पानीको उपलब्धता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। उहाँले बाढीपछिका अवस्थालाई ध्यानमा राख्दै पियुस र अन्य ट्याब्लेटहरुको प्रयोग मात्र नभएर शुद्ध पानीको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।

मेयर महर्जनले बागमती नदीमा बाढीले बगाएका जनावरहरु चोभार क्षेत्रमा अड्किएको र त्यहाँ खाल्डो खनेर व्यवस्थापनको पहल भइरहेको जानकारी पनि गराउनुभयो। महानगरले वडास्तरीय उद्धार र राहतका कार्यहरुलाई प्रभावकारी बनाउन वडाध्यक्षलाई पूर्ण अधिकारसमेत प्रदान गरेको छ।

नगरवासीको समस्याको समाधानका लागि महानगर लागिपरेको बताउँदै मेयर महर्जनले विपद्का घटनाहरुको समाधानका लागि आवश्यक बजेट नपुगे वडास्तरीय विकास योजनाबाट बजेट कट्टा गर्न आग्रह गरिसकिएको जानकारी दिनुभयो।

हालको अपडेट अनुसार नेपालभर विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहेका छन्। मौसमविद्हरुका अनुसार वर्षा अझै केही दिन जारी रहन सक्ने सम्भावना छ। ललितपुर, काठमाडौं, भक्तपुर लगायतका ठाउँमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ भने केही दुर्गम क्षेत्रमा अझै पनि राहत र उद्धार पुर्‍याउन कठिनाई भएको रिपोर्टहरु आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय