चलचित्र ‘१२ गाउँ’ हाल देशभर उत्साहजनक रूपमा प्रदर्शनमा रहेको छ। बिहीबार फूलपातीको दिनदेखि सुरु भएको प्रदर्शनमा अधिकांश हलहरूमा हाउसफूल रहेको निर्माण पक्षले जानकारी दिएको छ। चलचित्रका वितरक विरतक गोविन्द शाहीका अनुसार, उनीहरू हलहरूमा गएर दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन्।
चलचित्रको निर्देशन लोकप्रिय अभिनेता बिराज भट्टले गरेका छन् भने मुख्य भूमिकामा उनका छोरा समीर भट्ट छन्। यो चलचित्र समीरको डेब्यु फिल्म हो, जसका कारण उनी लामो समयदेखि चर्चामा रहेका थिए। समीरको डेब्युसँगै चलचित्रले राम्रो प्रचार पाएको थियो, जसले गर्दा यो फिल्मप्रति दर्शकको उत्साह थपिएको छ।
चलचित्रको बक्स अफिस कलेक्सनको यकिन रिपोर्ट भने अहिलेसम्म आइसकेको छैन। नियमित शोहरूबाहेक विशेष शोहरू पनि भइरहेका छन्, तर ती शोहरूको टिकट दर जानकारी नभएकाले ग्रस कलेक्सनको सही आंकडा नआइसकेको शाहीले बताएका छन्। तथापि, हाउसफूल शोहरूले राम्रो कलेक्सन भएको अनुमान गरिएको छ।
चलचित्रमा बिराज र समीरसँगै न्यान्सी खड्का, मुरलीधर, कनिज कोइराला, शुलेमान शंकर (इकु), तारा शर्मा, अर्जुन जंग शाही, र अन्य कलाकारहरूको अभिनय रहेको छ। अर्जुन पोखरेल र निरजको संगीत तथा रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफीले चलचित्रलाई थप आकर्षक बनाएको छ।
तमिल र कन्नड सिनेमा क्षेत्रका द्वन्द्व निर्देशक स्टन्ट सिल्भाले चलचित्रको द्वन्द्व निर्देशन गरेका छन् भने शंकर महर्जनले उनलाई सघाएका छन्। सिनेमाका लागि छायांकन महेश पौडेलले गरेका छन्, जसले काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ।
‘१२ गाउँ’को वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ।







