नेपाली सिनेमा ‘खुस्मा’ले आकर्षक कलेक्सन गरिरहेका बेला निर्माण टिमले अर्को महत्वपूर्ण सफलता हात पारेको छ। यो सफलता निर्माण टिमलाई दिलाएको छ, सिनेमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ले, जुन ग्लोबल ट्रेन्डिङमा प्रवेश गर्न सफल भएको छ।
‘रुकुम मैकोट’ गीत ग्लोबल ट्रेन्डिङको ७३ औं स्थानमा पुगेको छ, र यो गीत एक करोड ३५ लाखभन्दा बढी पटक हेरिएको छ। नेपाली गीतहरूको लागि यस्तो सफलता निकै दुर्लभ मानिन्छ। पछिल्लो समयमा ‘रुकुम मैकोट’ले प्राप्त गरेको लोकप्रियता र भ्युज लोभलाग्दो छ।
यो गीत लामो समयसम्म युट्युबको ट्रेन्डिङ सूचीको पहिलो स्थानमा रहेको थियो। अन्य चर्चित ब्रान्ड र कलाकारका गीतहरू पनि यसलाई उछिनेर पहिलो स्थानमा पुग्न असमर्थ भएका थिए। हालसम्म पनि ‘रुकुम मैकोट’ म्युजिक ट्रेन्डिङको पहिलो स्थानमै कायम छ।
गीतमा एसडी योगी र शान्तीश्री परियारको स्वर रहेको छ भने सुरेन्द्र रानाको शब्दले सजिएको गीतको संगीत पनि एसडी योगीकै हो। गीतको भिडियोमा धिरज मगर र उपसना सिंह ठकुरीसँगै सिनेमाका अन्य कलाकार पनि फिचर्ड छन्, जसले गीतलाई अझै आकर्षक बनाएको छ।
यो सफलतासँगै, सिनेमा ‘खुस्मा’ले नेपाली सांगीतिक तथा सिने उद्योगमा नयाँ उचाइ हासिल गरिरहेको छ।







