भक्तपुर, सुर्यविनायक नगरपालिका– सुर्यविनायक नगरपालिका वडा नं ९ र १० को सिमानामा पर्ने सूर्य मोडस्थित झोलुङ्गे पुलमा अभियानता आशिका तामाङले पुल तर्नेको लागि शुल्क बुझाउनु पर्ने विरुद्ध आवाज उठाएको थियोे भने उनलाई कानुन हातमा लिएर अराजक गतिविधि गरेको आरोपमा अभियन्ता आशिका तामाङविरुद्ध जनप्रतिनिधिहरुले प्रहरी बृत जगातीमा जाहेरी दर्ता गरेका छन्। जनप्रतिनिधिहरुले तामाङले कानुनी सीमाभन्दा बाहिर गई सार्वजनिक क्षेत्रमा अराजक गतिविधि गरेको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।
हाम्रो श्रोतका अनुसार , तामाङमाथि स्थानीय शान्ति भंग हुने काम गरेको आरोपमा जाहेरी परेको छ।
यस घटनापछि अभियन्ता आशिका तामाङले आफ्नो तर्फबाट स्पष्टिकरण दिँदै, स्थानीय जनताका लागि उठाएको आवाजलाई तोडमोड गरी आफूमाथि अन्याय गरिएको बताएकी छिन्। तामाङले भनेकी छिन्, “सूर्यविनायक नगरपालिका वडा नं ९/१० को सिमानामा रहेको झोलुङ्गे पुल जनताको करबाट बनाइएको हो। तर, जनताले नै प्रयोग गर्न शुल्क तिर्नुपर्ने खुला भ्रष्टाचारविरुद्ध मैले आवाज उठाएको थिएँ। यो विषयलाई नगरपालिकाले गलत तरिकाले बुझेर, मेरो विरुद्ध प्रहरी बृत, जगाती भक्तपुरमा उजुरी हालेको कुरा मैले सामाजिक संजाल मार्फत थाहा पाएँ। तर, यसबारे कुनै आधिकारिक जानकारी भने आएको छैन।”
उनले थप भनेकी छिन्, “म बेथिति, भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्ध सधैं आवाज उठाउँदै आएकी छु। यो मेरो मात्र व्यक्तिगत अभियान होइन, देशका नागरिकको हितमा भइरहेको कुरा हो। म हिजो पनि बोल्थेँ, आज पनि बोल्छु, र भोलि पनि बोलिरहन्छु। यदि मेरो जीवनमा कुनै पनि जोखिम आए पनि म आफ्नो सिद्धान्तबाट पछि हट्दिन।”
सूर्य मोडस्थित झोलुङ्गे पुलमा भएको विवादले स्थानीय स्तरमा ठूलो चर्चा पाएको छ। पुललाई जनताको लागि खुला राख्नु पर्नेमा शुल्क उठाउने प्रक्रियालाई तामाङले भ्रष्टाचारको रूपमा लिएकी छिन्। स्थानीय जनप्रतिनिधिहरुले भने तामाङले कानुनी सीमाभन्दा बाहिर गएर अराजक गतिविधि गरेको भन्दै कारबाहीको माग गरेका छन्।







