धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधनका लागि तयार गरिएको विधेयकमा स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्ने र ‘इन्साइडर ट्रेडिङ’ गर्नेलाई कडा कारबाही गर्ने प्रावधानहरू समावेश गरिएको छ।
यसबाहेक, बोर्ड अध्यक्ष र सञ्चालक बन्न सेयर कारोबारमा संलग्न व्यक्तिहरूलाई रोक लगाइएको छ। विधेयकमा धितोपत्र कारोबारको प्रणालीगत जोखिमबाट लगानीकर्तालाई जोगाउन क्षतिपूर्ति कोषको व्यवस्था पनि गरिएको छ।
मार्जिन कारोबारसँग सम्बन्धित सीमा, ब्याज शुल्क, र अन्य व्यवस्थाहरू तोक्न सकिने प्रावधान विधेयकमा उल्लेख छ। यो विधेयक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेस गर्नुभएको छ र दुवै सदनमा छलफल र पास भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरेर लागू हुनेछ।







