नेकपा एकीकृत समाजवादी पार्टी पोखरा महानगरपालिका वडा नं. १४ को वडा अधिवेशनको पूर्वसन्ध्यामा उक्त वडाका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ४८ जना व्यक्तिहरु पार्टीमा प्रवेश गरेका छन्।
उनीहरुलाई पार्टी पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका मेयर घनराज आचार्यले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। पार्टी प्रवेश गर्नेहरूमध्ये स्थानीय सामाजिक अभियन्ता, युवा नेता र विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरू रहेका छन्।
कार्यक्रममा नेकपा एस केन्द्रीय सदस्य सर्मिला पौडेलले महिलाको सशक्तिकरण, युवालाई रोजगारी र उद्यमशीलताको अभियानमा पार्टी अग्रसर रहेको बताउनुभयो। “हामी स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा काम गर्दैछौं,” उहाँले भनिन्।
जिल्ला कमिटी सचिव डिबी राईले अधिवेशन आजै सम्पन्न भई नयाँ नेतृत्व चयन गरिने जानकारी दिनुभयो। कार्यक्रममा जिल्ला उपाध्यक्ष पूर्ण लामा, महानगर कमिटी अध्यक्ष प्रेम थापा, जिल्ला उपसचिव कपिल पौडेल, ट्रेड युनियन नेता तिलक विश्वकर्मा, हरिराम धिताललगायत नेताहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव गंगा राईले गर्नुभएको थियो।







