काठमाडौं, असार २७
नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा नेकपा (एकता राष्ट्रिय अभियान) का अध्यक्ष बामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन् । गौतम र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताको सहमति भएसँगै उनी नेकपा (एस) मा प्रवेश गर्न लागेका हुन् ।
आगामी साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरी पार्टी एकताको औपचारिक घोषणा गरिने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
यसअघि पनि नेपाल र गौतमबीच पार्टी एकताका लागि पटक–पटक छलफलहरू भएका थिए । तर, ती संवादहरू कुनै निष्कर्षमा पुग्न सकेका थिएनन् । नेकपा एमालेले पनि गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो, तर त्यो प्रयास पनि मूर्तरूप लिन सकेन ।
गौतमले एमालेसँगको सम्बन्ध टुटाएर ‘एकता राष्ट्रिय अभियान’ को नाममा स्वतन्त्र राजनीतिक अभियान अघि बढाएका थिए । तर, अब त्यो अभियानलाई औपचारिक रूपमा नेकपा (एस) मा विलय गरिने भएको छ ।
यस एकताले वाम राजनीतिमा नयाँ समीकरणको सुरुवात हुने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार, एमालेबाट विभाजित दुई नेताबीचको एकता निकट भविष्यमा वाम गठबन्धन पुनः बलियो बन्ने संकेत हुन सक्छ ।







