काठमाडौं– अमेरिका भ्रमणलाई लिएर उठेको विवाद र आलोचनाबीच युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अन्ततः विदेश यात्रा नगर्ने निर्णय गरेका छन्। यही माघ ३ गतेका लागि तय गरिएको उनको अमेरिका भ्रमण औपचारिक रूपमा रोकिएको हो।

मन्त्री गुप्ताको सचिवालयका अनुसार भ्रमणको तयारी नै समयमै अघि बढ्न नसकेपछि यात्रा स्थगित गरिएको हो। प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्रिपरिषद्को निर्णय ढिलाइ हुँदा आवश्यक प्रक्रिया सुरु गर्न नसकिएको बताए। “निर्णय ढिलो हुँदा भिसा प्रक्रियासमेत सुरु भएन,” रिमालले भने, “त्यसैले योपटक अमेरिका जाने अवस्था बनेन।”

यसअघि पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल : पोस्ट जेन–जी रिभोलुसन’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई अमेरिका जान अनुमति दिएको थियो। उक्त कार्यक्रम विकास उप्रेती नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने भनिएको थियो।

तर, सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले आफूहरूले मन्त्री गुप्तालाई नबोलाएको दाबी गर्दै विज्ञप्ति सार्वजनिक गरेपछि भ्रमण विवादमा तानिएको थियो। यही कारण मन्त्रीको विदेश यात्रामाथि प्रश्न उठ्न थालेका थिए।

विवाद चुलिँदै गएपछि मन्त्री गुप्ताले पनि भ्रमणसम्बन्धी आरोपहरूलाई अफवाहको संज्ञा दिएका छन्। उनले भिसा प्रक्रिया नै अघि नबढाएको स्पष्ट पार्दै भने, “भिसा नै नहुँदा कसरी अमेरिका जान सकिन्छ? न टिकट छ, न कसैलाई निर्देशन दिइएको छ।”

राज्यको खर्च दुरुपयोग वा मानव तस्करीजस्ता गम्भीर आरोपहरू पूर्णतः आधारहीन रहेको उनको भनाइ छ। विवादको बीचमा अन्ततः मन्त्री गुप्ताको अमेरिका भ्रमण रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय