काठमाडौ /  नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीभित्र देखिएको विवाद, आलोचना र विभाजनप्रति चिन्ता व्यक्त गर्दै एकता, संवाद र अहिंसात्मक राजनीतिको आवश्यकता औंल्याएका छन्। पछिल्ला दिनमा पार्टीको भविष्यबारे देश–विदेशबाट धेरै फोन, सन्देश र भेटमार्फत चासो र चिन्ता व्यक्त भएको उनले बताएका छन्।

खड्काले लोकतन्त्रमा विचार र धारणा तर्कसहित राख्नु स्वाभाविक भए पनि गाली–गलौज र हिंसात्मक भाषा प्रयोग हुनु लोकतन्त्रविरोधी प्रवृत्ति भएको टिप्पणी गरे। आफूले कहिल्यै कसैलाई होच्याउने, गाली गर्ने वा हिंसात्मक अभिव्यक्ति नदिएको दाबी गर्दै उनले भिडको राजनीति र दोहोरो चरित्र अस्वीकार्य रहेको स्पष्ट पारे।

उनले पार्टीलाई एकताबद्ध राख्न इमानदार प्रयास भए पनि त्यसमा सफलता नपाएको उल्लेख गरे। पार्टी फुटको संघारमा पुग्दा एकताको विकल्प रोजियो कि रोजिएन भन्ने मूल्यांकन इतिहासले गर्ने उनको भनाइ छ। साथै उनले विपी कोइरालाको विचार, सिद्धान्त र एकताको राजनीतिबाट आफू एक कदम पनि पछि नहटेको स्पष्ट गरे।

विशेष महाधिवेशनको सन्दर्भमा केन्द्रीय कार्यसमितिले निर्णय गरे आफूहरू तयार रहेको बताउँदै खड्काले भित्र र बाहिर फरक–फरक कुरा बोल्ने प्रवृत्तिले निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको गुनासो गरे। सामाजिक सञ्जाल र सीमित समूहको दबाबमा व्यक्तिमाथि हुने नियोजित नकारात्मक टिप्पणीप्रति पनि उनले असन्तुष्टि जनाए।

शब्द र शैलीले ठूला राजनीतिक घटनाहरू जन्माउने उल्लेख गर्दै उनले संवाद कमजोर हुँदै हिंसात्मक टिप्पणी बढ्नु लोकतन्त्रका लागि खतरनाक भएको चेतावनी दिए। आसन्न निर्वाचनको सन्दर्भमा विभाजनले कार्यकर्ता र जनताको विश्वासमा ठेस पुगेको हुन सक्ने उनको भनाइ छ।

आठ दशक लामो नेपाली कांग्रेसको इतिहास, गौरव र देश–जनताप्रतिको जिम्मेवारी जोगाउन एकता र सहकार्य अपरिहार्य रहेको खड्काले बताए। पार्टीभित्र आवश्यक सुधार प्रक्रिया मार्फत अघि बढ्ने जनाउँदै उनले सञ्जाल र भिडको राजनीतिभन्दा विपीको विचार, सिद्धान्त र एकताको राजनीति नै समयको आवश्यकता भएको निष्कर्ष निकाले। अन्त्यमा उनले सबैलाई विचलित नहुन आग्रह गर्दै पार्टी छिट्टै कठिन अवस्थाबाट बाहिरिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय