–देवराज मिलन                                      ( मोरंग)

माथी हिमालमा

म हिउँ बटुल्न 

ढाकर लिएर गएको छु

नाम्लो बरियो खकन्दि 

तक्मा हातमा लिएर

भकारी भर्ने दुस्साहस गरेर

भोका नानीहरुलाई 

सपना बाड्दैछु।

अगेनोमा ओदान मुनि 

ढुङ्गा पोल्न हालेर

पाके पछि खानु भन्दै

नानीहरुको प्राण रोक्न 

सत्यको लागि असत्य बोलेर

म अन्न बेसाउन 

साहूको भरिया बनेको छु।

म साहुको गधा भने पनि

म सामान्तको घोडा गने पनि

उसको भारी बोकेर 

एक मुठी अन्न बटुल्न

आफ्नो परिश्रम शोषकलाई

छोराछोरीको प्राण संग

सट्टा पट्टा गर्ने लाचार बाउ हुँ।

हिउले न ढाकर भरिन्छ

न पानीले भकारी ठडिन्छ

न अगेनाको ढुङ्गो तरुल झै

पाकेर केटाकेटीको प्राण अडिन्छ

आशामा अडेको स्वास प्रस्वास

नेताको आश्वासन जस्तो 

कति दिन टिक्छ

अब लालाबालालाई झुक्याएर 

जीवन चल्दैन मित्र

अब म बिद्रोह गर्छु

भोकै मर्नु भन्दा

मलाई भोको राख्ने

शोषणको विरुद्ध

लामबद्ध भएर 

म तपाईं संगै उठ्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय