गोकर्णेश्वर  /  चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभाको तयारी पूरा गरेको छ। संस्थाका अध्यक्ष न्हुछेनारायण श्रेष्ठ (मिलन)ले सेयर सदस्यहरूलाई साधारण सभामा अनिवार्य रूपमा सहभागी हुन आह्वान गर्दै सहकारी अभिवादनसहित पत्राचार गरिसकेका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार वार्षिक साधारण सभा सहकारी संस्था र सदस्यहरुको लागि  महाकुम्भ मेला हो, जहाँ सदस्यहरूले राय, सल्लाह, र सुझाव दिनुका साथै भविष्यका लागि नीति निर्माण र निर्देशन दिन सक्नेछन्। यसका साथै, सदस्यहरूलाई संस्थाको भावी योजना र कार्यक्रमबारे म्यान्डेट प्रदान गर्न पनि आग्रह गरिएको छ।

संस्थाले यस अवसरमा १० प्रतिशत नगद लाभांश वितरण गर्ने योजना सार्वजनिक गरेको छ। लाभांश प्राप्त गर्नका लागि सदस्यहरूले अनिवार्य रूपमा आफ्नो सदस्यता प्रमाणपत्र पेश गर्नुपर्ने जानकारी पनि दिइएको छ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित उत्तरबाहिनी मन्दिर प्राङ्गणमा असोज ५ गते, शनिबार हुनेछ। यस अवसरमा हाटबजार कार्यक्रमको पनि आयोजना हुने जानकारी गराइएको छ, जसले साधारण सभालाई अझ रोचक बनाउने विश्वास गरिएको छ।

  कार्यक्रम मिति: असोज ५ गते, शनिबार
स्थान: उत्तरबाहिनी मन्दिर प्राङ्गण, गोकर्णेश्वर नगरपालिका, वडा नं. ४

   सहकारीका सबै सदस्यहरूको उपस्थितिलाई अनिवार्य गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय