सुवास श्रेष्ठ ,

काठमाडौ, असोज ७ गते  / शेयर बजारका एक जना पुराना र अनुभवी लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिजविरुद्ध गम्भीर आरोप लगाएका छन्। उनले विगत तीन वर्षदेखि सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०) ले आफ्नो हिसाबकिताब समयमै मिलान नगरेको र ठूलो रकम भुक्तानी गर्न आनाकानी गरिरहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ। दिपेन्द्र अग्रवाल ३० वर्षदेखि शेयर बजारमा संलग्न लगानीकर्ता हुन्, जसले दोस्रो बजारबाट विभिन्न कम्पनीका शेयर खरिद–विक्रि गर्दै आएका छन्। सिप्ला सेक्युरिटिजसँग पाँच वर्षको कारोवारको अनुभव रहे पनि पछिल्ला तीन वर्षमा उनले ठूलो समस्याको सामना गर्नु परेको बताएका छन्।

पाउनुपर्ने रकम र हिसाबकिताबको विवाद;

अग्रवालले दाबी गरे अनुसार, सिप्ला सेक्युरिटिजसँग उनको लेजरमा करिब ४८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको हिसाब मिल्न बाँकी छ। तर सिप्ला सेक्युरिटिजले समयमा हिसाबकिताब नगर्दा यो समस्या उत्पन्न भएको हो। उनले ब्रोकरले कानूनअनुसारको समयमा रकम फिर्ता गर्नुपर्ने भए पनि, त्यो नगरेको भन्दै आफू र अन्य लगानीकर्ताहरू पनि यसैगरी पिडित भएको उल्लेख गरेका छन्।

उनले थप रूपमा, आफन्त र आफ्नो सम्बन्धित कम्पनीहरूको हिसाब मिलाउँदा पाउनुपर्ने रकम सात करोड ८८ लाखभन्दा बढी रहेको बताए। यस रकममा पनि सिप्ला सेक्युरिटिजले समयमै भुक्तानी नगर्दा करिब १५ करोड रुपैयाँको व्याज थपिएको छ। तर तीन वर्षको अवधिमा मात्र तीन करोड भुक्तानी भएको र बाँकी रकम अहिलेसम्म नदिएको आरोप पनि उनले लगाएका छन्।

कानूनी संघर्ष र सरकारी निकायहरूसँगको समन्वय;

रकम फिर्ता नपाएपछि अग्रवालले सिप्ला सेक्युरिटिजविरुद्ध विभिन्न सरकारी निकायमा उजुरी दिएका बताएका छन । अग्रवालका अनुसार उनले केन्द्रिय अनुसन्धान विभाग, ब्रोकर एसोसिएसन नेपाल, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीमा उजुरी गर्दा पनि कुनै ठोस समाधान नआएको गुनासो समेत व्यक्त गरेका छन ।

उनले सिप्ला सेक्युरिटिजले मिति २०८१।०४।११ मा कागज गरी एक हप्ताभित्र हिसाब मिलान गर्ने प्रतिवद्धता जनाए पनि अहिलेसम्म कुनै ठोस कदम नचालेको बताएका छन्। अझ उल्टै, सिप्ला सेक्युरिटिजले उनलाई झुक्याएर चेक फिर्ता लिएको र झुटा दाबी गर्दै प्रतिवेदन समेत पेश गरेको बताएका छन्।

सार्वजनिक अपिल र सरोकारवालाहरूको ध्यानाकर्षण;

अग्रवालले भने, “सिप्ला सेक्युरिटिजले मलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरेर चरम शोषण गरिरहेको छ। यदि यस्ता कार्यविरुद्ध कुनै कदम नउठाइने हो भने लाखौं लगानीकर्ताहरूले शेयर बजारमा विश्वास गुमाउने खतरा रहन्छ।” उनले अन्य पिडित लगानीकर्ताहरूलाई पनि आफ्नो साथ दिन र नियमनकारी निकायहरूले यस्ता ब्रोकरहरूको बिरुद्ध कारबाही गर्न आवश्यक रहेको अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय