काठमाडौं, असार १७ – नेपाली चाउचाउ बजारमा एक दशकभन्दा बढी समयदेखि एकछत्र राज गर्दै आएको वाईवाई ब्राण्डले अब यशोदा फुड्सको ‘करेन्ट चाउचाउ’ सँग कडा प्रतिस्पर्धा खेप्न थालेको संकेत बजार्मा देखिएको छ।
सन् २०२४ मा वाईवाई चाउचाउ बिक्री गर्ने सीजी फुड्स नेपालको व्यापार केहि प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ। अघिल्लो वर्ष सोही कम्पनीको व्यापार १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँ थियो।
विश्लेषकहरूका अनुसार व्यापार घट्नुको पछाडि बजारमा यशोदा फुड्सले उत्पादन गर्ने ‘करेन्ट’ चाउचाउको तीव्र उदय प्रमुख कारण हुनसक्छ। करेन्ट चाउचाउले नेपाली उपभोक्तामाझ बजार अनुकुल मूल्य, फरक एवं भेराइटिज स्वाद र आक्रमक मार्केटिङमार्फत सशक्त छवि बनाउँदै आएको (एफएमसिजि) वस्तु बिक्रि गर्दै आएका ब्यापारीहरुले टिप्पणी गर्ने थालेका छन ।
यशोदा फुड्सले पछिल्ला केही वर्षमा आक्रामक वितरण रणनीति अपनाउँदै स्थानीय बजारदेखि ग्रामीण क्षेत्रसम्म पहुँच बढाएको छ। करेन्ट चाउचाउको माग विशेष गरी युवा पुस्ता र स्कुल-कलेज पढ्ने विद्यार्थीहरूमा बढ्दो देखिएको छ।
यससँगै, करेन्ट ब्राण्डले थुप्रै स्वाद भेरियन्ट, आकर्षक प्याकेजिङ र डिजिटल प्लेटफर्महरूमा सक्रिय प्रचारप्रसारको प्रयोगमार्फत बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ।
वाईवाई ब्राण्ड विगत दुई दशकदेखि नेपाली उपभोक्तामाझ अत्यन्तै लोकप्रिय रहँदै आएको हो। तथापि, बजारमा ‘एकल राजा’ को स्थिति अब चुनौतीपूर्ण हुँदै गएको छ।
सीजी समूहले बजार गिरावटको औपचारिक प्रतिक्रिया नदिए पनि कम्पनीले नयाँ उत्पादन भेरियन्टहरु र युवा वर्गलाई लक्षित ब्राण्डजस्ता प्याकेजहरूको तयारी गरिरहेको बताइन्छ।नेपाली चाउचाउ बजारमा अब सीजी र यशोदा फुड्सबीचको प्रतिस्पर्धा केवल व्यापारिक नभई ब्रान्ड इमेज र उपभोक्ता भरोसाको प्रतिस्पर्धा पनि बनेको विश्लेषकहरुको बुझाइ रहेको छ । एकातर्फ दशकौंदेखिको विश्वास बोकेको वाईवाई, अर्कातर्फ तीव्र रूपमा उकालो लागेको करेन्ट चाउचाउ — अब यो दौड कसले जित्ने हो, त्यसको उत्तर बजारले नै दिनेछ।







