काठमाडौँ, तारकेश्वर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय देशप्रति फैलिएको निराशावाद र भ्रमको बादल चिर्न आवश्यक रहेको बताएका छन्।शनिबार तारकेश्वर नगरपालिकामा परिवर्तन अभियान नेपालद्वारा आयोजित एसइई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले देश बर्बाद हुँदैछ भन्ने सोच गलत भएको प्रस्ट पारे।

“सबै खत्तम भयो, केही भएन भन्ने ठोकुवा गर्नेहरू गलत छन्,” थापाले भने, “र, सबै ठीक छ भन्नेहरू पनि त्यत्तिकै भ्रममा छन्। देशमा केही राम्रो भएको छ, तर सोचेअनुसार प्रगति गर्न सकिएको छैन।”

उनले कुनै पनि विषयमा समर्थन वा विरोध गर्नु अघि गहिरो अध्ययन र विश्लेषण आवश्यक रहेको उल्लेख गरे। “अरुलाई मात्रै दोष लगाएर केही हुँदैन, अबको पुस्ताले जिम्मेवारी लिनुपर्छ,” भन्दै उनले विद्यार्थीहरूलाई अगाडि सर्न आह्वान गरे।

कार्यक्रममा काठमाडौँ कांग्रेस सभापति सबुज बानियाँले विद्यार्थीहरूलाई लक्ष्य तय गरेर अघि बढ्न प्रेरित गरे। “आजको लगानी नै भोलिको कर्णधार बनाउने हो,” उनले भने।तारकेश्वर नगरपालिकाका ७१ विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरियो। उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। ती टपर विद्यार्थीहरूलाई विशेष सम्मान गरियो भने अन्य विद्यार्थीहरूलाई उनीहरूको विद्यालयमार्फत प्रमाणपत्र वितरण गरिने जानकारी दिइयो।

कार्यक्रममा काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर, वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर-५ का अध्यक्ष शम्भु फुयाल, वडा १० का अध्यक्ष कुमार राई, वडा ३ का अध्यक्ष परशुराम अर्याललगायत नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय