रसुवा, असार २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रसुवामा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा पुगेको हो।

प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लगायत उच्च अधिकारीहरू पनि निरीक्षणमा सहभागी थिए।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म बाढीमा २० जना बेपत्ता भएका छन्। यस्तै, चिनीसँगको व्यापारका लागि प्रयोग गरिएका २३ वटा मालवाहक कन्टेनर, ६ वटा ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी कुल ६४ सवारीसाधन बाढीले बगाएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको छ।

स्थानीय प्रशासनका अनुसार अझै पनि खोजी तथा उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ। चिनियाँ पक्षसँग समेत समन्वय गरेर सीमावर्ती क्षेत्रमा सम्भावित थप क्षतिबारे जानकारी संकलन भइरहेको जनाइएको छ।

प्रधानमन्त्री ओलीले बाढी पीडितप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा पुनर्स्थापना कार्यमा सरकार गम्भीरताका साथ लाग्ने प्रतिबद्धता जनाएका छन्। साथै, बाढीको कारण व्यापारिक आवागमन पूर्णरूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्गको तत्काल व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

यो बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका क्षेत्र अत्यधिक प्रभावित बनेको छ भने नेपाली नाका तातोपानीको सन्चालनमा समेत असर पर्नसक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय