काठमाडौँ, असार २६  
आज शुक्ल पूर्णिमा, जसलाई गुरु पूर्णिमाका रूपमा श्रद्धाका साथ देशभर मनाइँदैछ। वैदिक परम्पराअनुसार आजको दिन ज्ञान, शिक्षा, दीक्षा र संस्कार दिने गुरुजनप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्दै विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।

गुरु पूर्णिमाको ऐतिहासिक र धार्मिक महत्त्व निकै पुरानो छ। वैदिक धर्मग्रन्थ महाभारत का रचयिता वेदव्यासको जन्म जयन्तीको अवसरमा मनाइने व्यास जयन्ती नै पछि गुरु पूर्णिमाका रूपमा स्थापित भएको हो। यसै अवसरमा आज विभिन्न विद्यालय, गुरुकुल तथा संस्थानहरूले गुरु पूजन, वैदिक मन्त्रोच्चार र श्रद्धाञ्जली कार्यक्रम गर्दैछन्।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। “ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ,” उनले बताए। शास्त्रमा यस्ता गुरुलाई ब्रह्मा, विष्णुमहेश्वरको स्वरूपसमेत मानिएको छ। यही आधारमा संस्कृत वाक्य ‘आचार्य देवो भव’ — अर्थात् आचार्य अर्थात् गुरु नै देवता हुन् — भन्ने भनाइ प्रचलनमा आएको हो।

आजै व्यास जयन्ती पनि मनाइन्छ। वेद व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरेका थिए। त्यसैगरी उनले १८ पुराण, १८ उपपुराण तथा पाँचौँ वेद भनिने महाभारतको पनि रचना गरेका थिए। वेद व्यासको योगदानको स्मरणस्वरूप आषाढ शुक्ल पूर्णिमाको दिन विशेष श्रद्धाका साथ व्यास जयन्ती मनाउने गरिएको हो।

यस अवसरमा आज देशभरका गुरुकुल, शिक्षालयहरूमा गुरु पूजा, वैदिक अनुष्ठान तथा संस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। गुरु पूर्णिमा धार्मिक, सांस्कृतिक र शैक्षिक रूपमा महत्वपूर्ण पर्व मानिन्छ, जसले शिक्षाको मूल्य, अनुशासन, संस्कार र संस्कृतिप्रतिको निष्ठालाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय