काठमाडौँ, असार ।
छ महिनापछि बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक करिब ४५ सेकेण्डमै सकिएको छ। शुक्रबार दिउँसो बसेको बैठकले आउँदो आइतबार नगरसभा बोलाउने निर्णय गर्दै छोटो अवधिमा बैठक टुंग्याएको हो।
बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गर्दै नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे बस्ने जानकारी गराए। त्यही दिन बिहान ९ बजे अर्को कार्यपालिका बैठक बस्ने घोषणा पनि उनले गरे।
बैठकका लागि २४ वटा एजेण्डा पठाइए पनि औपचारिक रूपमा नगरसभा सम्बन्धी एउटा एजेण्डामात्र पेश गरिएको मेयर बालेनले जनाए। अन्य कुनै छलफल नहुँदै उनले बैठक सम्पन्न भएको घोषणा गर्दै बैठक कक्षबाट उठेर हिँडे।
यसअघि आजै काठमाडौँ महानगरपालिकाको बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको बैठक बसेका थिए। ती बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेका छन्।
काठमाडौँ महानगरपालिकामा नियमित कार्यपालिका बैठक लामो समयदेखि नबसेको भन्दै आलोचना भइरहेका बेला यस्तो छोटो र एकल एजेण्डामाथिको बैठकप्रति जनप्रतिनिधि र सर्वसाधारणले चासो व्यक्त गरेका छन्।







