भारतीय चलचित्र जगतले आज एक बहुप्रतिभाशाली कलाकार गुमाएको छ। लामो समयदेखि बिरामी रहेका वरिष्ठ अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। भारतीय समाचार संस्था NDTV का अनुसार, उनको निधन हैदरावादको जुबली हिल्सस्थित निवासमा भएको हो।
आन्ध्र प्रदेशको कन्किपाडू मा जन्मिएका श्रीनिवासले सन् १९७८ मा ‘प्रणाम खरिधु’ नामक फिल्ममार्फत अभिनय यात्रा सुरू गरेका थिए। करिब पाँच दशक लामो आफ्नो करियरमा उनले ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
तेलुगु सिनेमामा मात्र नभई उनले तामिल, कन्नड र हिन्दी फिल्महरूमा समेत प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए। नायक, खलनायक र चरित्र भूमिकाहरूमा उनी सदैव दर्शकको मन जित्न सफल थिए।
भारतीय सरकारले उनीलाई सन् २०१५ मा ‘पद्मश्री’ सम्मानद्वारा विभूषित गरेको थियो। यो पुरस्कार भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानको उच्च कदरका रूपमा दिइएको हो।
उनको निधनले भारतीय फिल्म उद्योगलाई ठूलो क्षति पुगेको छ। तेलुगु फिल्म क्षेत्रका कलाकार, निर्देशक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनको अभिनयलाई सदैव सम्झिने बताएका छन्।







