हैदराबाद, भारत — तेलुगु फिल्म उद्योगका चर्चित हास्य अभिनेता फिश वेंकटको ५३ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने ५० लाख भारतीय रुपैयाँ जुटाउन नसक्दा उनले उपचार नपाई ज्यान गुमाएका हुन्।
वेंकट लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। पछिल्लो केही महिनादेखि उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको थियो। गम्भीर अवस्थामा पुगेपछि उनकी छोरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै सहयोग मागेकी थिइन्। उनले आफ्ना पिताको मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक परेको बताउँदै सहयोगी हातहरुको याचना गरेकी थिइन्।
तर आर्थिक सहयोग अपेक्षाअनुसार जुट्न नसक्दा उपचार अघि बढ्न सकेन। उचित उपचार नपाउँदै वेंकटको निधन भएको पुष्टि परिवारजनले गरेका छन्।
फिश वेंकटले आफ्नो करियरमा सयौं तेलुगु फिल्महरूमा हास्य भूमिकामा अभिनय गर्दै दर्शकको मन जितेका थिए। उनको अभिनय यात्रा विशेषगरी तेलुगु फिल्म उद्योगका ‘कमेडी टाइम’का अविस्मरणीय पात्रहरू मध्ये एक मानिन्छ। सानो पर्दादेखि ठूला पर्दासम्म उनले जनप्रियता कमाएका थिए।
उनको असामयिक निधनले फिल्म उद्योगमा शोकको लहर छाएको छ। सहकर्मी कलाकार, निर्देशक तथा दर्शकहरूले शोक सन्देश दिँदै वेंकटप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।







