काठमाडौं — बहुप्रतिभाशाली गायक तथा अभिनेता प्रकाश सपुतले तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन्। ‘बदला बरिलै’ जस्तो गम्भीर सामाजिक सन्देश बोकेको गीतमार्फत व्यापक चर्चा कमाएका प्रकाश, अहिले ‘बदला बरिलै २’ का रूपमा नयाँ प्रस्तुति ल्याउँदैछन्।
योपटक प्रकाशले पछिल्लो पुस्ताका दुई चर्चित गायिका समीक्षा अधिकारी र एलिना चौहानसँग सहकार्य गरेका छन्। ‘नाइँ भनेसि नाइँ’ शीर्षकमा निर्माण भएको यस गीतको छायांकन सकिएको र केही दिनमै सार्वजनिक हुने जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन्।
सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको विम्बात्मक पोस्टरले गीतको विषयवस्तु पुनः बलियो सामाजिक सन्देशमा आधारित हुनसक्ने संकेत गर्छ। खासगरी, महिलामाथिको हिंसा र त्यसविरुद्धको आवाजलाई उठान गर्ने संकेत गरिएको छ।
४ वर्षअघि सार्वजनिक भएको ‘बदला बरिलै’ मा गायकले बलात्कारविरुद्धको सशक्त आवाज दिएका थिए। देवी घर्तीको स्वरमा आएको त्यो गीतले नेपाली समाजमा गम्भीर बहस चलाएको थियो। यसपटक ‘बदला बरिलै २’ मा समीक्षा र एलिनाको स्वरले थप प्रभावशाली सन्देश दिनसक्ने अपेक्षा गरिएको छ।
तीज नाचगानको मात्रै होइन, समाजको घाउ पोल्ने र विचार उब्जाउने पर्व पनि हो भन्ने सन्देश दिन प्रकाश सपुत फेरि मैदानमा उत्रिएका छन्।







