काठमाडौं, साउन — कर्णाली विकास बैंकमा देखिएको अर्बौंको हिनामिनासँग सम्बन्धित घोटाला प्रकरणमा प्रहरीले थप एकजना पूर्व अधिकारीलाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत भुवन बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार बस्नेत कर्णाली विकास बैंकको अनुगमनको जिम्मा लिएका बेला त्यहाँ देखिएको आर्थिक अनियमिततासँग प्रत्यक्ष जोडिएको प्रमाण फेला परेको छ।
यसअघि यही प्रकरणमा बैंकका संस्थापक तथा अध्यक्ष पशुपतिदयाल मिश्र असार १८ गते नेपालगन्जबाट पक्राउ परेका थिए। मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत हुन्। उहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार बनेर पराजित भएका थिए।
बैंकका सिइओ राजेन्द्रविक्रम रायलाई जेठ १७ गते र लेखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई जेठ २० गते पक्राउ गरिएको थियो।
सिआइबीको विशेष अनुसन्धान टोली अहिले बाँकेमै रहेर घटनाको विस्तृत अनुसन्धानमा जुटिरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बैंकबाट करिब २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको आरोपमा पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्।
प्रहरी स्रोतका अनुसार प्रकरणमा संलग्न अन्य व्यक्तिहरूबारे पनि खोजी तथा अनुसन्धान भइरहेको छ। यस घोटालालाई बैंकिङ्ग इतिहासकै ठूलो आर्थिक आपराधिक प्रकरणको रूपमा हेरिएको छ।







