काठमाडौं
‘जारी’ले नेपाली बक्स अफिसमा तहल्का मच्चाएको थिइन्, अब त्यो कथा फेरि फर्किंदैछ—‘जारी २’का रूपमा। कवि र निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको ‘जारी २: सङ अफ च्याब्रुङ’ले आज तीन पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ। फिल्म आउँदैछ—असोज ३ गते, दशैंको मुखैमा।
आज सार्वजनिक गरिएका तीन पोस्टरमध्ये पहिलोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराललगायतलाई समेटिएको छ। पोस्टरको दृश्यले ग्रामीण परिवेश, सादा जीवन र संस्कृति झल्काउँछ। त्यहीं देखिन्छ—दयाहाङ लठ्ठी टेक्दै, मिरुना र एउटी बालिका अघिपछि, र पछि भरियाहरूको झुंड।
अर्का दुई पोस्टरमा भने दया र मिरुना मात्रै देखिएका छन्—एकमा दया च्याब्रुङ बजाउँदै मस्त मुद्रामा, र मिरुना लिम्बु पहिरनमा हर्षित मुद्रामा। अर्को पोस्टरमा दुवैजना क्यामरातर्फ हेर्दै हाँसिरहेका छन्—एकदमै आत्मीय ढंगले।
तीनै पोस्टरले एक कुरा प्रष्ट गर्छ—‘जारी २’ केवल प्रेम र समाजको कथा मात्र होइन, यो लिम्बु समुदायको सांस्कृतिक आत्मा च्याब्रुङ वरिपरिको कथा हो।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। कलाकारहरूको लाइनअप लोभलाग्दो छ—दयाहाङ र मिरुना त छन् नै, साथमा छन् विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु।
‘जारी’ २०८० सालको सबैभन्दा सफल नेपाली फिल्ममध्ये एक थियो, जसले १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले यसको सिक्वल ‘जारी २’ पनि दर्शकबीच निकै प्रतिक्षित छ।
अब हेर्न बाँकी छ—के ‘जारी २’ले पनि च्याब्रुङजस्तै गुञ्जायमान बनाउनेछ नेपाली सिनेमा हलहरू?
तपाईंलाई पनि ‘जारी २’को कुन पोस्टर मन पर्यो?







