सुवास श्रेष्ठ
काठमाडौँ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेपछि मुलुकको राजनीतिक वृतमा नयाँ चर्चा सुरु भएको छ। आगामी निर्वाचन तथा शक्ति–समीकरण केन्द्रित विषयमा दुई नेताबीच गम्भीर कुराकानी भएको राजनीतिक स्रोतले बताएको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनीहरूबीच प्रत्यक्ष संवाद रोकिएको थियो। लामो समयपछि भएको शुक्रवारको भेटलाई दुवै दलले ‘सामान्य राजनीतिक परामर्श’ भने पनि राजनीतिक वृत्तले यसलाई आगामी गठबन्धनको सम्भावनासँग जोडेर हेरिरहेको छ।
भेटका क्रममा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन को तयारी, दलबीचको समन्वय, र समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले यी दुई निर्वाचनका विषयमा सर्वपक्षीय बैठक बोलाएको केही घण्टाअगाडि नै ओली देउवालाई भेट्न पुगेका थिए। भेटको समय र सन्दर्भलाई विश्लेषकहरूले विशेष महत्वका साथ हेरेका छन्।
कांग्रेस र एमालेबीच आगामी निर्वाचनमा संभावित गठबन्धनबारे अनौपचारिक रूपमा कुराकानी भएको पनि स्रोतको दाबी छ। यस्तो अवस्थामा दुई ठूला दलबीच गठबन्धन बनेमा देशमा फेरि ‘दुईतिहाइ बहुमत’ आउने सम्भावना चर्चा गरिएको छ। तर पार्टीभित्र उत्पन्न मतभेद, वैचारिक दूरी र क्षेत्रीय शक्तिहरूको प्रभावलाई ध्यानमा राख्दा त्यसमा चुनौती पनि उत्तिकै रहेको विश्लेषकहरूको भनाइ छ।
जेनजी आन्दोलनपछि देखिएको दूरी मेटाउँदै दुवै नेताबीचको यो भेटलाई राजनीतिक संवाद पुनःस्थापनातर्फको संकेत मानिएको छ। आगामी सर्वपक्षीय बैठक र दलहरूको आ–आफ्नो औपचारिक निर्णयपछि मात्र गठबन्धनबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।







