काठमाडौं । लामो समयदेखि छरिएर व्यवसाय गर्दै आएका मार्ट व्यवसायीहरू अब संगठित रूपमा अघि बढ्ने तयारीमा जुटेका छन्। व्यवसायीका साझा समस्या, राज्यको बेवास्ता र नीति निर्माणमा आवाज कमजोर हुँदै गएको अवस्थालाई अन्त्य गर्न नेपाल मार्ट व्यवसायी संघ गठनको निर्णायक भेलाको घोषणा गरिएको छ।
नेपाल मार्ट व्यवसायी संघको आयोजनामा हुन लागेको उक्त भेला २०८२ पुष १९ गते (जनवरी ३, २०२६) बिहान १२ बजेदेखि ३ बजेसम्म शान्ति नगर गेटस्थित बेम्बो थकाली होटलमा आयोजना हुनेछ। आयोजकका अनुसार यो भेला औपचारिक कार्यक्रम मात्र नभई मार्ट व्यवसायीहरूको अधिकार, अस्तित्व र भविष्यको लडाइँको सुरुवात हो।
भेलामा संघ गठन तथा नाम–ठेगाना टुंगो लगाउने, तदर्थ समिति चयन, विधान मस्यौदा र स्वीकृति, संघ दर्ताको अख्तियारी दिने जस्ता निर्णायक एजेन्डा माथि छलफल हुनेछ। अब पनि मौन बस्ने हो भने मार्ट व्यवसायीहरू नीतिगत मारमा पर्ने जोखिम बढ्ने आयोजक पक्षको ठहर छ।
संघले कर, बजार अनुगमन, ठूला कर्पोरेट चेनको दबाब, स्थानीय तहको दोहोरो नियम र प्रशासनिक झन्झटविरुद्ध सामूहिक आवाज उठाउने तयारी गरेको जनाएको छ। त्यसैले यस भेलालाई वेवास्ता गर्नु भनेको आफ्नै व्यवसायिक भविष्यप्रति उदासीन हुनु सरह हुने चेतावनी समेत दिइएको छ।







