बूढानीलकण्ठ काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ अन्तर्गत निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय मिति २०८२ साल माघ २ गते शुक्रबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित जेष्ठ नागरिक भवनमा औपचारिक रूपमा स्थापना गरिएको छ। आगामी निर्वाचनलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त कार्यालय स्थापना गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको पत्राचारअनुसार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरू बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा व्यवस्थापन गरिएको जनाइएको छ। स्थानीय तहको सक्रिय सहयोगमा कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी प्रशासनिक कामकाजलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यालय स्थापना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरू, साथै नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूको उपस्थितिले निर्वाचन प्रक्रिया प्रतिको साझा जिम्मेवारी र प्रतिबद्धता झल्काएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन कार्यालय र स्थानीय तहबीचको सहकार्य अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, स्थानीयस्तरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदा मतदाता नामावली संकलन तथा अद्यावधिक, निर्वाचनसम्बन्धी सूचना प्रवाह, उजुरी तथा प्रशासनिक सेवाहरू छिटोछरितो रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
नयाँ स्थापना गरिएको यस कार्यालयले निर्वाचन व्यवस्थापनमा स्थानीय सहभागिता बढाउने, मतदातालाई सहज सेवा प्रदान गर्ने र समग्र निर्वाचन प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिइएको छ। यसले आगामी निर्वाचनलाई सफल र प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन्।







