काठमाडौ ।। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिक मान्यता प्रदान गरेको छ।यस निर्णयसँगै शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष भने पार्टीको आधिकारिक मान्यता र चुनाव चिह्नबाट वञ्चित भएको छ। आयोगका अनुसार उक्त पक्ष अब कानुनी रूपमा नेपाली कांग्रेसको आधिकारिक पक्ष नरहेकाले नयाँ दलको रूपमा दर्ता हुनुपर्ने अवस्था आएको छ।

आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनको निर्णय, विधान र पेश भएका कागजातहरूको अध्ययनपछि गगन थापाको नेतृत्वमा गठन भएको कार्य समितिलाई वैधानिक र आधिकारिक ठहर गर्ने निर्णय गरेको हो। यससँगै नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा गगन थापा स्थापित भएका छन्।निर्वाचन आयोगको निर्णयपछि नेपाली कांग्रेसको परम्परागत चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा अब गगन थापा नेतृत्वको कार्य समितिको मातहतमा रहनेछ। आगामी निर्वाचन, राजनीतिक गतिविधि तथा औपचारिक कामकारबाहीमा यही पक्षले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नेछ।

निर्वाचन आयोगले देउवा नेतृत्वको पक्षलाई नयाँ दलको नाम र छुट्टै चुनाव चिह्न छनोट गर्न निश्चित समयसीमा उपलब्ध गराउने जनाएको छ। निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र उनीहरू नयाँ राजनीतिक दलका रूपमा क्रियाशील हुन सक्नेछन्।यस घटनाक्रमलाई नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण राजनीतिक मोडका रूपमा हेरिएको छ। लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद विशेष महाधिवेशन र आयोगको निर्णयपछि औपचारिक रूपमा टुंगिएको विश्लेषकहरूको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय