अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपत्तिसँगै स्वास्थ्य महामारीको जोखिम बढ्दै गएको छ। बाढी, पहिरो र डुबानपछि रोगको संक्रमण फैलिन सक्ने खतरा रहेको सरकारी अधिकारीहरूले चेतावनी दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, पानी थामिए पनि स्वास्थ्यसम्बन्धी जोखिम यथावत् रहेको छ। ‘पानी र किटजन्य रोगको प्रकोप बढ्नसक्ने सम्भावना भएकाले सम्पूर्ण नागरिक र सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कुनै पनि महामारीको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सूचित गरिएको छ,’ प्रवक्ताले जारी गरिएको विज्ञप्तिमा भनेका छन्।

विशेषज्ञहरूको भनाइ अनुसार, बाढी र पहिरोले पानीका स्रोतहरू प्रदूषित गर्ने भएकाले झाडापखाला, हैजा, डेंगु, र मलेरिया जस्ता पानी तथा किटजन्य रोगहरू फैलिन सक्छन्। सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल पनि हैजा पूर्ण रूपमा हट्न नसकेको बताउँदै, यस खतरासँगै किटजन्य रोगको जोखिम मनसुन अवधिमा विशेष रूपमा उच्च हुने बताए।

बाढी र पहिरोले फोहोरलाई बगाएर विभिन्न स्थानमा पुर्‍याउने हुँदा डेंगु, मलेरियाजस्ता रोगहरू थप फैलिन सक्ने चिकित्सकहरू बताउँछन्। यसबाहेक, स्क्रब टाइफस लगायतका रोगहरूको समस्या पनि देखिने खतरा रहेको छ। साथै, प्रभावित क्षेत्रमा समयमै उद्धार नपाएका मानिसहरूलाई खुला स्थानमा बस्नुपर्ने हुँदा रुघाखोकी फैलिनसक्ने सम्भावना समेत छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्धार गरिएका घाइतेको निःशुल्क उपचारका लागि सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आकस्मिक सेवा २४ सै घण्टा उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ। साथै, स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले प्रादेशिक स्वास्थ्य निकाय र हब तथा स्याटेलाइट अस्पतालहरूसँग समन्वय गरी आपतकालीन अवस्थामा आवश्यक चिकित्सकीय सहयोगको तयारीमा रहेको जानकारी दिएको छ।

मन्त्रालयले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या वा जानकारीका लागि नागरिकहरूलाई हटलाइन नम्बर १११५ र आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा प्राप्त गर्न १०२ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय