सुवास श्रेष्ठ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्द्रकुमार भुसालले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। फागुन २१ गते हुन गइरहेको निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।
विद्यार्थी संगठनबाट राजनीतिमा खारिँदै आएका भुसाल नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुन्। उनले काठमाडौँ–४ का जनताले भोग्दै आएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन ।
यस निर्वाचन क्षेत्रमा यसअघि नेपाली काँग्रेसका निवर्तमान महामन्त्री तथा हाल पार्टी सभापति गगन थापा निरन्तर रूपमा विजयी हुँदै आएका थिए। प्रभावशाली नेताको रूपमा परिचित थापाको क्षेत्रमा यसपटक नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट युवा उम्मेदवार भुसालको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।
उम्मेदवारी घोषणा गर्दै भुसालले आफ्नो यात्रा चुनौतीको नभई जिम्मेवारीको भएको बताएका छन साथै काठमाडौँ–४ का जनताले दैनिक रूपमा भोग्दै आएका स्वास्थ्य र शिक्षाको अव्यवस्था, ढल तथा फोहोर व्यवस्थापनको समस्या, अस्तव्यस्त सडक र यातायात तथा बेरोजगारीका कारण युवामा बढ्दो निराशा समाधान गर्नु आफ्नो मुख्य दायित्व रहेको उनको भनाइ छ।
उनले यी समस्या एक्लैले समाधान गर्न नसकिने उल्लेख गर्दै जनताको साथ, सुझाव र विश्वासबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने बताए। जनसहभागिताबाट स्वच्छ, व्यवस्थित, सुरक्षित र सुन्दर काठमाडौँ निर्माण गर्न सकिने उनको धारणा छ।
पद र प्रतिष्ठाका लागि नभई जनताको सेवाका लागि उम्मेदवारी दिएको उल्लेख गर्दै भुसालले जनताको आवाजलाई नीति र काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भुसालको घोषणासँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को राजनीतिक गतिविधि थप सक्रिय बनेको छ ।







