काठमाडौ  । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा पैसाको प्रभाव नियन्त्रण नगरेसम्म लोकतन्त्र सुदृढ नहुने स्पष्ट धारणा राखेकी छन् । मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर निकाल्ने एक मात्र विकल्प निर्वाचन भएको उल्लेख गर्दै उनले त्यसलाई स्वच्छ, निष्पक्ष बनाउन समाजका सबै तह र तप्काको सक्रिय भूमिका आवश्यक रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरूमा पैसाको व्यापक चलखेल भएको भन्दै  अब त्यस प्रवृत्तिलाई अन्त्य गर्न ढिला भइसकेको उल्लेख गरिन् । “विगतमा चुनाव पैसा खर्च गर्ने र प्रभाव जमाउने माध्यम बन्यो भन्ने गुनासो धेरै छन्,” उनले भनिन्, “यदि साँच्चिकै भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावी खर्च र पैसाको दुरुपयोग रोक्नबाटै हुनुपर्छ । मतदाता आफैं चनाखो नबनेसम्म पैसाको राजनीति अन्त्य हुँदैन ।”

उनका अनुसार अहिले हुन लागेको निर्वाचन सामान्य राजनीतिक प्रक्रिया मात्र नभई मुलुकलाई दिगो स्थिरता र लोकतान्त्रिक निकासतर्फ लैजाने निर्णायक अवसर हो । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते देखिएको राजनीतिक अस्थिरता स्मरण गर्दै पैसाले प्रभावित निर्णय र सत्ता संघर्षले मुलुकलाई बारम्बार संकटतर्फ धकेल्ने चेतावनी दिइन् । “अब यस्तो अवस्था दोहोरिनु हुँदैन,” उनले जोड दिइन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको लोकतन्त्रमा पैसाको राजनीति मुख्य समस्या बनेको संकेत गर्छ । निर्वाचन जित्न ठूलो रकम खर्च गर्ने प्रवृत्तिले नीति निर्माणभन्दा स्वार्थ र लगानी फिर्ता गर्ने सोच हावी हुँदै आएको छ । समुदायस्तरको निगरानी र मतदाताको सचेतना महत्वपूर्ण भए पनि चुनावी खर्चको कडाइ, पारदर्शिता र कानुनी कार्यान्वयन बिना पैसाको प्रभाव नियन्त्रण कठिन देखिन्छ । त्यसैले, यसपटकको निर्वाचन साँच्चिकै पैसामुक्त हुन सक्छ कि सक्दैन भन्ने प्रश्नले लोकतान्त्रिक निकासको सफलतासमेत निर्धारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय